सोध्छिन् अबोध तोतेबोलीमा उनी
सोझ्याउदै चोर औंला पऽर __ भिडतर्फ
भिडले घेरिएको छ रगत लतपतिएको
निर्वस्त्र क्षतविक्षत स्त्री देह !
अवोध छिन् बुझ्दिनन् ।
जिज्ञासु छिन् र सोध्छिन् बारम्बर ।
चाहन्न बेथितिले धमिल्याउन त्यो मन ,
जिजीविषा हराउँदै गएको समयमा
डर लाग्छ आफैभित्र कताकता
'मेरी एन्टोनेट' सलबलाउँछ दिमागभरी ।
जल्हाद मनसँग पौठेजोरी खेल्दै
उभिन्छु 'मूर्ति' उनका अघि ।
आफुभित्र खोज्छु आफुलाई ,
कसरी सक्छु निरीह उभिन ?
कसरी भनुँ __ खतरामा छौ
तिमीले आफ्ना ठानेकाहरुबाट !
तन्द्रामा जब देख्छु __ निर्वस्त्र भाग्दै गरेकी नकावधारीबाट ,
झस्किन्छु तर्सिन्छु आतंकित हुन्छु ।
कहाँ होला बाबुको छहारीभन्दा सुरक्षित ?
कसरी भनुँ उनलाई -
'सुरक्षा कवच' विश्वासलाई च्यातेर धुजाधुजा ,
अस्मिता सकिन्न जोगाउन
पाइलैपिच्छे ठडिने 'धरहराहरु'बाट ।
बुझ्ने भएपछि नसराप्नु देशलाई !
नधिक्कार्नु छोरी जन्मदातालाई !
31 भाद्र 2075 मा खबरमञ्च.मा प्रकाशित ।