जन्मेर हिजो बितायौ यो दिन आमाको काखमा ।
वुवाको साथ पाएर हिड्यौ समाइ हातमा ।
तनमा योवन् समय गयो सुस्तरी भरेर ।
कोपिला फुल्यो गुलाबी बनी सौन्दर्य छरेर ।
रीति हो यस्तै जानु नै पर्छ एक् दिन छोडेर ।
जन्मेको घर बिर्सेर अन्तै मायालु बनेर ।
आँखामा आँसु आएर झर्छ पृथिवी चुम्दछ ।
डर र त्रास उत्सुकताले ब्रह्माण्ड घुम्दछ ।
पाहुना बन्यो माइती अब जानु मन् बुझाई ।
नरोए तिमी सजिलो हुन्छ गर्नलाइ बिदाइ ।
आमा हुन् सासु तिमी नी छोरी भएर रहनु ।
मसिनो कुरा नलिनु मन्मा केही चै सहनु ।
ससुरा बाजे बाहिरी मान्छे नन्द र आमाजु ।
मानको आशा देवर गर्छन् जेठानी जेठाजु ।
सुनेकै हौली फलेको वृक्ष नुहुन्छ जहिल्यै ।
हो शत्रु आफ्नै रीस र ईर्ष्या नगर्नु कहिल्यै ।
वचन मीठो गरेर बोल्नु जोसुकै भए नी ।
कुलको शिष्ट बधु छ बन्नु पतिकी संगीनी ।
आँखामा बस्न परिश्रम् केही गर्नु नै पर्दछ ।
आउँछ बेला अगाडी तिम्रो समय झुक्दछ ।
खुशी छौ तिमी जीवन बितोस् सफल बनेर।
गन्तव्य पुग्छ खुशीमा यात्रा दम्पत्ति मिलेर ।
दम्पत्ती बीच नहोस फाटो रमिते दुनियाँ ।
पतिले पत्नी नठानोस् कैले पञ्जाको चिडिया ।
पत्नीले आफ्नो मर्यदा छोडी नजाओस् बाहिर।
मनन गर्नु जीवन ठान्नु एक् अर्का खातिर ।
रथको एकै पाङ्ग्रा हो दुइ सरर लम्कियोस्।
शिखर चुम्ने दृष्टान्त जोडी बनेर चम्कियोस् ।
2070/02/09
No comments:
Post a Comment