चिसो माघको मध्य जाडो।म निद्राको लोभी मान्छे,अझै झन बिहानीपखको निद्रा,ओहो कति मिठो हुन्छ!अर्थात म निकै ढिलो उठ्ने गर्थे गर्छु।ओछ्यानमा नै बिहानको समाचार सक्थे।मोबायलबाट रेडियो बजाएर बिहानको समाचार सुन्ने मेरो नित्य कर्म नै बनेको थियो।
मान्छेको स्वभाव केही घटना ताजा रहुन्जेल याद हुने,क्रमश पुरानो बन्दै जाँदा स्वतःघटना पनि फिक्का हुँदै जाँदो रहेछ।झापाको कञ्चनजंघा एफ.एमको कञ्चन आवाजको समाचार सुन्दासुन्दै म भावनामा बगेँ।समाचार कानको जालीमा ठोकिदैथियो-
आज ज्ञानेन्द्र शाहीले कु गरी जनताको अधिकार हत्याएको दिन अर्थात माघ उन्नाइस..!
ओहो!हो त नी आज माघको उन्नाइस गते,अनि पो सम्झेँ।त्यसपछीका दिनहरु खहरे बग्यो दिमागमा।
जनआन्दोलनका काला दिनहरु झन् प्रबल भए।रेडियोमा झापामा जनआन्दोलनको कालो दिन(जुनदिन सुरज बिश्वास र राजन गिरीको प्रशासनको बर्बर दमनले गोली हानी हत्या गरेको थियो)को प्रत्यक्ष प्रशारणको रेकर्डिङ बज्दैथियो।रणभूमिमा चन्द्र भन्डारीले प्रत्यक्ष गोलीको आवाज रेकर्डिङ र स्टुडियोमा दिपेन्द्र पौडेलले प्रत्यक्ष प्रशारणको जोखिम मोलेका थिए।उक्त निडर साहसी प्रशारणले जनताको रगत थप उमालेको थियो।पछी सो कार्यले निकै तारिफ पाएको थियो।ती चित्कार र गोलीको एकोहोरो आवाजले थप संवेदित बनायो।
मोबायलको रिङ बज्यो।हेरे नम्बर नयाँ थियो।तथापी रिसिभ गरेँ।
"हेलो"
"हेलो,को?दिवाकर जी बोल्नु भ'को हो?"
"हो त..अँ तपाइ चाही?"
"म दिपा दाहाल हो।दिवाकर जी तँपाइको कविता उत्कृष्ट 16 मा छानिएछ।"
"हो र?अनि कार्यक्रम आजैको होइन र?"
"हो।तपाइको नम्बर नभएर इनफम गर्न गाह्रो भएछ।मलाइ पनि निकै गाह्रो भो।बल्ल बल्ल नम्बर पत्ता लगाएँ।..अँ झापाबाट हामी निकै सेलेक्ट भएछौ।तपाइ चारपाने पश्चिम बस स्टेन्डमा आउनु ल"
यो हाम्रो सामान्य फोन बार्ता भयो।म अलि अस्वस्थ भएकाले सार्वजनिक बसमा जान गाह्रो होला भनेँ।दिपाले ठिकैछ म आयोजकलाइ फेरी फोन गर्छु भनिन्।अब भने म तनावमा परेँ,मन भएर पनि..।
सन्दर्भ थियो प्रभु फाइनान्स झापा शाखाले चौथो बार्षिकोत्वमा साहित्यकार मायामितु न्यौपानेको संयोजकत्वमा गरेको मेची अञ्चल स्तरीय कविता प्रतियोगिता 066।यो कार्यक्रम औसत भन्दा भिन्न यस अर्थमा थियो की,उपस्थित साहित्यकारको गाडी खर्च आयोजकले बेहोर्ने भएको थियो।
त्यो उन्नाइस गते अघिको बिहिबार लिला अनमोल मार्फत मैले आफ्नो कविता प्रेषित गरेको थिएँ।उनलाइ फोन गरेँ।
"खै जान्छु कि जान्न थाहा छैन।"प्रतिउत्तर "अनि दिपाहरुले त सँगै जाने भन्थे त!"
"हो र!ठीकैछ गएँ भनेँ गइहालेँ,गएनछु भने चै तपाइले नै वाचन गरिदिनु है मेरो कविता"लिला अनमोलको कविता पनि छानिएको थियो र एउटा प्रतिस्पर्धीले अर्कोको कविता वाचन गर्दैन भन्ने थाहा थियो।फोन राख्ने बित्तिकै दिपा जी को फोन आयो।"दिपा जी आयोजकले के भन्यो?"मेरो सीधा प्रश्नको सीधा जवाफ "हून्छ तपाइ चारपानेमा आउनु आयोजकले टेक्सि रिजर्व गरेको छ।"धेरै खुशी लाग्यो।"धन्यवाद दिपा जी तपाइलाई"
दिपा ले सम्पूर्ण ब्यवस्था मिलाइन्।उसो त मेरो आयोजकसँग ब्यक्तिगत चिनजान थिएन र सम्पर्क पनि।
बिहान दश बजे पूर्वघोषित स्थानमा पुगेँ सँगै बुवा हुनुन्थ्यो।निकै समय प्रतिक्षा गरेपछी हामी भन्दा पश्चिमबाट एक जना केटी आइन जो परिचित थिएन।आखिरमा मलाइ फोन गर्ने दिपा उनै रैछिन।एउटै गा बि स भएर नि अपरिचित हामी परिचित भयौँ।
टेक्सी प्रतिक्षा गर्यौ।बिर्तामोड तर्फबाट आउने थप दुइ सहभागी,अम्बिका कडरिया र(माफ गर्नुहोला ती महिला मित्रको नाम भुले)थिए एउटै गाडीमा जाने।र गाडी उनीहरु नै ल्याउँदैथिए,हामी बिर्तामोड पश्चिमको स्टेसनमा थियौँ।
केही समयको पर्खाइपछी गाडी आयो र भित्र दुइ सहभागी सँगै एक पुरुष मित्रपनि थिए।उनी कविता आस्वादनका निम्ति गएका थिए।
(नोट : धेरै पछी सम्झेर लेखेकाले केही ब्यक्तिको अनुहार आँखामा आएपनि नाम बिर्सेँ।)
ती पुरुष मित्रसँग पनि परिचय राम्रै भएको थियो।उसो त दिपा बाहेक अन्यसँग गाडीभित्र नै परिचय भएको थियो।
"अरु को को सेलेक्ट छन्?"मैले उत्सुकता देखाएँ।सावित्रा ढुङ्गाना,लिला अनमोल,खगेन्द्रा खुशी,दिपीका मिश्र,हामी चार जना!झापाबाट अलि धेरै छानिएछ भनेर गाडीको अघिल्लो सिटबाट दिपा बोलिन्।बाटोभरी बिभिन्न गफ भयो।बिशेष त खगेन्द्रा खुशी(छन्द कवियित्री),लिला अनमोल र सावित्रा ढुङ्गाना एक स्थानीय एफ.एम कञ्चनजंघाका प्रस्तोता पनि थिए।उनीहरुको नाम दिनहु रेडियोमा बजेर धेरैले चिन्थे।गाडीका कोही मित्र त्यस्ताका अघि आफुलाइ कमजोर ठान्दैथे।मैले त्यतिबेला भनेको थिएँ की अलिकति नाम सुनेकाको मात्र कविता राम्रो हुन्छ र?हाम्रो कविता पनि कमका चाही छैनन् है।सम्भवतःसबैको सहमति थियो।
कार्यक्रम औषधी ब्यवसायी संघको सभा हल दमक जुन सप्तरंगी एफ एमको सम्मुखमा रहेछ।तर कसैले देखेको थिएन।
गाडीको पुरुष मित्रले र बुवाले एकैपटक देखेको छ भन्नुभयो।बुवा आफु पनि औषधी ब्यवसायी भएकाले नदेख्ने त कुरै थिएन।दमक चोकबाट उत्तर मोडियौ,टाढा थिएन पुगीहालियो।
त्यो हलमा मैले चिनेको कुनै अनुहार थिएन(सँगै आएका बाहेक)।हल प्रवेश गर्दै गर्दा एक महिलाले"ए आइपुग्नु भो?"भन्दै बाहिर गइन,म भित्र छिर्दै थिएँ।यो अनुहार पनि नौलो थियो तर बोलि पुरानो थियो,म लिला अनमोल मा दोधार हुदै भइन किनकी धेरै स्वर सुनेको र फोनमा पनि निकै पल्ट गफ भएको थियो।मैले हाँसेर नै"आएँ त"जवाफ फर्काको थिएँ।सहयात्री साथी पछाडी बसेछन्,म चाही अगाडी थिएँ।नेपाली समय,ठीक तोकिएको बेलामा त कहाँ सुरु हुन्थ्यो र!एक डेढ घण्टा हाइ काढुञ्जेल प्रतिक्षा गरेपछी बल्ळ साहित्यकार तथा त्यस कार्यक्रमको संयोजक मायामितु न्यौपानेलाइ ड्यासमा उद्घोषिकाको रुपमा दर्शन पाइयो।जूनसुकै कार्यक्रमको थालनी औपचारिक आसन ग्रहणबाट हुन्छ।उद्घोषिकाको मुखबाट जति नाम उच्चारण हून्थ्यो अधिक नाम कानका लागी नया थिएन।नाम उच्चारण सँगै आँखा भने ती नामधारी माथि दौडियो।
प्राज्ञ कृष्णभूषण बल प्रमुख अतिथी थिए।उनलाइ त्यसदिन स-पत्नी सम्मान गर्दै मञ्चमा आसन ग्रहण गराइयो।त्यो दिन जब कृष्णभूषण बल उच्चारण गर्दै ढोकावाट स सम्मान भित्र ल्याउँदै गर्दा म चकित भएँ।मोटो,काले हेर्दै दुइ चार जना फ्याँक्ने जस्तो।मैले मेरो दिमागमा बना'को चित्र भन्दा फरक पाएँ।त्यस्तै नाम उच्चारण गर्ने क्रममा मनु मञ्चिल,कार्यक्रमका अतिथिलाइ देख्दा पनि आश्चर्यमा परेँ।सबैले तारिफ गर्ने वाचन शैली भएका र बरिष्ठ साहित्यकार उपमा पाएका ब्यक्ति अति सरल थिए।उनको लगाइमा कुनै भडक थिएन।
नाम क्रमश उच्चारण हुँदै गयो-डम्बर घिमिरे भुपेन्द्र तिम्सिना, प्रकाश आङदाम्बे ......आदीआदी।
जब गजलकार प्रकाश आङदाम्बेलाइ देखे,मेरो दिमागको उनको काल्पनिक तस्बिर च्यातियो।कपाल पालेको र हेर्दा भित्ती जस्तो (बोलचालको भाषा) देखिने प्रकाशको यो तस्विर कल्पना समेत थिएन।उनलाइ देखेपछी लाग्यो साहित्यकार कल्पना गरे जस्तो हुदैनन्।मूल्याङ्कन आवरणबाट हुँदैन।कपाल पालेका केटालाइ हेर्ने दृष्टीकोण बिरुद्ध आन्दोलन गरिरहेथे लाग्थ्यो।
साहित्यकार शिब रेग्मी 'प्रणत' मुख्य निर्णायकको पदमा आसिन थिए।
औपचारीक आसन ग्रहणपछी मेची अञ्चल स्तरीय खुल्ला कविता प्रतियोगितामा छनौट उत्कृष्ट सोह्र कविता वाचनको कार्यक्रम थियो।प्रतिष्पर्धी वर्णानुक्रम अनुसार ड्यासमा आएर बाचन गर्न सुरु भयो।आफ्नो पालो दुइचारजना पछी थियो,मनमा हल्का डर लागेको थियो किनकी प्रतिष्पर्धा हो।कविताले हल तताउँदै गयो।प्रत्येक प्रतिष्पर्धी आफुलाइ अब्बल देखाउँदै थिए।क्रमश क्रमश सोह्र प्रतिष्पर्धी को कविता सकियो। उपस्थित हुन नसकेकाको कविता त्यहाँ उपस्थित साहित्यकारले वाचन गरिदिए।दीपीका मिश्र झापाबाट छनौट भएपनि कामबिशेषले मोरङ गएकी र आउँदाआउँदै गाडी बन्द भएर उपस्थित हुन नसकेपनि उद्घोषिकाबाट उनको कविता बाचन भयो।त्यस्तै कविता वाचन गरिदिने क्रममा प्रकाश धवँला(भुटानि साहित्यकार तत्कालिन समयमा पाथीभारा एफ एमको उद्घोषक समेत रहेका जो अहिले तेस्रो मुलुक पुनर्बासमा छन)ले एक कविता वाचन गरिदिए।प्रतियोगी कविताका बीचमा अन्य अप्रतियोगी कविताहरु पनि वाचन भएका थिए।अप्रतियोगी मित्रहरुमा एउटा कुरा बढी सम्झिन्छु-एक जना मित्र(सम्भवतः धरानका थिए)ले कविता वाचन गर्ने मौका पाए।उनको कविता छन्दमा थियो र निकै लामो थियो।उनले कविता वाचन गरिरहँदा छेउमा उभिएर प्रस्तोताले समय कम भएर टुङ्ग्याउन निकैपटक आग्रह गर्दा पनि कविता नटुङ्गिएपछी माइक नै खोस्नु परेको थियो।
निर्णायकले निर्णयबारे छलफल गरिरहँदा मञ्चमा अतिथि आफ्नो मन्तब्य तथा सिर्जना वाचन गर्दैथिए भने अर्कातिर प्रतियोगीका मनमा ढ्याङ्ग्रो बज्दैथियो किनकी प्रभु फाइनान्सले प्रत्येक अञ्चलका प्रथम र दोस्रोलाइ काठमाण्डोमा हुने कार्यक्रममा लैजादैथियो।
मनु मञ्जीलले कविता वाचन अब्बल शैलीमा गरे।उनले कविता वाचन गर्दा कसैले अन्य काम गर्न पाउन्नथ्यो।वाचन भइरहदा अगाडी आसन ग्रहण गर्ने एकजना(...) केही लेख्दैथिए,मनु मञ्जिल वाचन छोडेर उनीमाथि खन्निए।उनी कविता वाचन गर्दैछन कि...सुरुमा त झुक्किए किनकी कविताको रफ्तार सँगै थियो।केही हरफ पढेपछी पुनः रिसाए"यता हेर्नोस न यार!मैले कविता वाचन गर्दा अगाडी अरुले अरु काम गरेपछी जाँगर मरेर जान्छ,मेरो नराम्रो बानी छ।मैले छोडे है!"
परबाटै सरीको संकेत गरेपछी पुनःसुरुदेखि बाचन गरे।
डम्बर घिमिरेले उपस्थित सबैलाइ पेट मिचिमिचि हँसाए।बिकृतिमाथि ठट्यौलो पाराले ब्यङ्ग्य कविता थियो।
मन्तब्यका क्रममा कृष्णभूषणले ठट्यौलो पारामा भने"हाम्रो सरकारको नियम अनुसार 58 बर्ष काटेपछी अवकास प्राप्त हुन्छ र सेवावाट निस्कनुपर्छ।म त 60 नाघिसके मलाइ पनि तपाइहरुले निकाल्नुहोला भन्ने पो डर लाग्छ!"सँगै एउटा कविता पनि वाचन गरे।
प्रकाश आङ्दाम्बेले "प्यारमा जबरजस्ती."गजल पढेका थिए।
निर्णय तयार भइसकेको थियो।निर्णायकको तर्फबाट प्रमुख निर्णायकले शिब रेग्मी प्रणतले भनेँ-हामीले हाउभाउ र प्रस्तुतिकरणलाइ समेत अङ्क दिएका थियौँ।सबै जनाको कविता एक से एक हूँदाहुँदै पनि निर्णायकको धर्म एउटा अघि र एउटा पछी पार्ने नै हो।साथै जसको कविता अन्यले वाचन गरिदिनु भो,ती कविताका प्रस्तुतिलाइ किनिएको प्रस्तुति संज्ञा दिएका छौँ...."केही अरु थप कुरा गरेर नतिजा सुनाए।तेस्रो लिला अनमोल,दोस्रो एकु घिमिरे र प्रथम साबित्रा ढुङ्गाना थिए।त्यो देखि अन्य निर्णय भएन।उत्कृष्ट 16 भएकाले आफ्नो ठाउँमा सबै उत्कृष्ट भन्दै उत्कृष्टको प्रमाणपत्रको ब्यवस्था थियो।मनमा थोरै खिन्न थियो तथापी धेरै खुशी थिएँ।आवाज मात्र सुनेका धेरै ब्यक्तिसँग अन्तरक्रिया भयो।
पुरस्कार बितरण तथा सबैको फोटो सेसन भयो।कार्यक्रमको समापन पछी ढोकाबाट बाहिर जाने क्रममा कृष्णभूषण बलले मलाइ भनेँ"भाइ कविता राम्रो लेख्दो रैछौ अझै प्रयास गर्दै जानु"
म मख्ख परेँ वा के भयो,धन्यवाद भन्नै भुलेँ।सँगै रहेका मनु मञ्जिलले पनि मलाइ सुझाए की तिमीहरु सबै कविता वाचन गर्दा धेर आक्रोसित तथा बेगमा जान्छौ।वाचन गर्दा भाब सँगै बिस्तारै गएर टक्क प्रहार गर्नुपर्छ।
बिहानको गाडी प्रतिक्षामा थियो।अहिले फर्कने बेलामा खगेन्द्रा खुशी पनि थपिएकी थिइन्।घर चाँडै पुगिने सँगै प्राप्त बाटो खर्च पनि जोगिने मनसाय हुनुपर्छ उनको।एउटा सानो गाडीमा जसोतसो खादिएर बस्यौ।
कार्यक्रम प्रतिको असन्तुष्टी पोखिन थाल्यो।कोही भन्दैथिए रिजल्ट चित्त बुझेन।निर्णय चिनेका आधारमा भयो।मैले एकमनले सोचे हारेपछीको बोली तर एउटा कुरामा असन्तुष्टी थियो।कार्यक्रममा खगेन्द्रा खुशी को छन्द कविता अति मन परेको थियो त्यो पनि...।
खगेन्द्रा भन्दैथिन् की उनकै सहकर्मीले छन्द कविता छानिदै भनेर खिल्ली उडाएपछी प्रेषित गर्न मन लागेन तर अन्तिम समयमा जे होला भनेर प्रेषित गरेँ।वास्तवमा कवितामा त्यो सीमा थिएन।सँगै बस्ने मित्रले भनेँ "निर्णय जो सँग बढी अन्तरक्रिया भएको थियो उसैले जित्यो।नभए हेर त एकु घिमिरे सप्तकोशी एफ एम को साहित्य कार्यक्रम संचालक,लिला अनमोल र साबित्रा ढुङ्गाना कन्चनजंघा एफ एमका साहित्य कार्यक्रम संचालक,जसको धेरै पटक प्राय सबैसँग अन्तरक्रिया भएको छ।खगेन्द्रा जी त छन्द कवि त्यहाँ कसलाइ पो आउँथ्यो र छन्द?
ती मित्र कति सत्य थिए गर्भ मै रह्यो।बाटोभरी खगेन्द्राले मलाइ छन्द सिकाइन्।
समग्रमा मेरा लागी भनेँ दुखद भन्दा सुखद बढी थियो।
No comments:
Post a Comment