परदेशमा बित्यो जीवन छातीभरि देश दुख्छ ।
जति सम्झ्यो उति झन्झन छातीभरि देश दुख्छ ।
सपनामा देश देख्छु कल्पनामा त्यतै पुग्छु
सम्झनामा त्यही रनवन छातीभरि देश दुख्छ ।
कति दशैँ तिहार बिते, बिते चाड पर्व मेला
मन पोल्छ हुन्छ जलन छातीभरि देश दुख्छ ।
न आफन्त नातागोता न त कोही साथीसङ्गी
कहाँ खोजूँ मनको मलम छातीभरि देश दुख्छ ।
धन कमाउने, सुख पाउने रहरमा देश छाडेँ
बित्यो यौवन के गर्नु धन छातीभरि देश दुख्छ ।
No comments:
Post a Comment