Pages

25 November 2012

बलराम दाहालको गजल-


विखण्डनको समाचारले छातीभरि देश दुख्छ ।
के गर्दै छ सरकारले छातीभरि देश दुख्छ ।

सकिएन मन बुझाउन किन किन आजभोलि
छापिएका अखबारले छातीभरि देश दुख्छ ।

स्वदेशीको उद्योग छैन कहिलेसम्म धान्ला अब
विदेशीको भरभारले छातीभरि देश दुख्छ ।

धेरथोर केही गरौँ गरौँ जस्तो लाग्छ तर
सरकारको लम्पसारले छातीभरि देश दुख्छ ।

केही होला बन्ला भनी जसलाई शिरमा चढाइयो
आज तिनकै व्यवहारले छातीभरि देश दुख्छ ।

मनोरन्जन गर्ने नाममा आजभोलि भित्रिएको
पश्चिमेली यो संस्कारले छातीभरि देश दुख्छ ।

No comments: