Pages

13 January 2013

मेरो नजरमा सर्जक दिवाकर स्वप्नील - By साथी सुकरात

मान्छे प्राय आफ्नै पृथकतामा बाँचौ र भिन्न पहिचान होस चाहन्छ।आफुलाई अरुबाट भिन्न राख्ने दौडमा कति असफल हुन्छन र औसत जीवन बाँच्छन्।तर कुनै अवशेष भएपनि एकअर्कामा भिन्न चाही रहेकै हुन्छन्।यस्तै मान्छेको भीडमा मैले केही समयदेखी महसुस गरेको पृथक बाँच्न चाहने एक स्रष्टा हुन् दिवाकर स्वप्नील।

झापा चारपाने स्थायी ठेगाना तथा सोही स्थानमा बसोबास गर्ने यी स्रष्टा केही भिन्न लाग्छन्।ब्राह्मण कुलका(तेस्रो माध्यमबाट पत्ता लाएको)भएपनि सँधै आफ्नो थर लुकाइ आम मान्छे सरह बन्ने यी ब्यक्ति ले उदेश्य बमोजिम आफ्नो थर गोप्य नै राख्न रुचाउँछन्।उनका अनुसार यसको पनि कारण छन्- ठाउँ ठाउँमा थर बिशेषले ए हाम्रै मान्छे पो रहेछ भन्दै अर्को थरलाई भेदभाव गरेको महसुस गरेपछी उनी थर बिशेषको प्राथमिकतामा पर्ने मान्छे बन्न चाहेनन् बरु सबैको मान्छे बन्न रुचाए र सबै समान हो भन्ने बिचार पोख्न थाले।अनि एउटा स्वर्णिम भबिष्यको सपना देख्दै उपनाम "स्वप्नील" राखी साहित्य फाँटमा कलम चलाउन थाले।औपचारिक नामको अस्तित्व प्राज्ञिक प्रमाणपत्र मा मात्र सीमीत पारे।
उनीसँगको अनलाइन गफ (chat) अनुसार उनले लेख्न थालेको ठ्याक्कै तिथिमिति छैन।तर जब उनको जीवनको बाल्यकाल मै अकल्पनीय घटना घट्यो जसले एउटा जिन्दगी जियाइबाट अर्कै जिन्दगीमा पुर्याइदियो।जुन कुरा उनी भन्न चाहदैनन्।त्यसको आहातबाट निस्केका शब्दहरु नै साहित्यको प्रारम्भिक बिन्दु हुनसक्छ तर पहिलो लेखेको कविता "बिधवा"लाइ आधार मान्दा 2054 साल देखिन्छ तर उक्त कविता भएको खाता नै हराएपछी पुनः सो कविता लेख्नै सकेनन्।अक्सर झ्याउरे छन्दमा लेखिएका बाँकी कविताहरु पनि बिधवासँगै सती गए।किनकी ती कविताहरु अव्यवस्थित रुपमा थिए।

स्वप्नीलले ब्यवस्थित रुपमा कविता लेखेर संग्रह गरेको भने 58 सालदेखि हो।त्यसभन्दा अगाडीका केही रचनाहरुलाई कतिले सोली बनाएर चटपटे खाए।
उनको कविता माया प्रिती देखी देशभक्तिसम्मका छन्।प्राय निम्न बर्गको बोली र पिछाडीएका वा शोषणमा परेका नारीका आवाज कवितामा सम्बोधन गरेका छन् साथै उपदेश पनि दिन्छन्।

सियोको टुप्पोमा हुन्छ इज्जत तिमी यो जान न।
नजिक् का दृष्टि बक्रे छन् तिम्रा यो कुरा मान न ।।
इज्जत तिम्रो गहना सारा इज्जतै पहिचान् ।
इज्जतै तिम्रो ब्यक्तित्व अनि इज्जतै पहिरन् ।।
(शुभेच्छा)
-
चुलो चौको मात्र हैन बाहिर चल्नुपर्छ बैनी ।
आँधीबेरी मगजले आफै छल्नुपर्छ बैनी ।

पछिल्लो समयमा आएको गद्य कविताको चर्चा तथा स्वतन्त्र भावना पोख्न मिल्ने भएकाले पद्य कविताको बुइ चढेर गद्य तर्फ खनिएँ।
...
आँधी आयो एक हुल मान्छेको!
हठात्,
सिस्नो पानी बर्जीयो नाङ्गो देहमा,
एउटै सम्पत्ति थाङ्नाहरु
उडायो उही आँधीले बाटामुनि नहरमा !
तब,
मांशपेशीका डल्लाहरु
खोक्रो आडम्वरमा डुबेर चुर्लुम्मै
छोपीरहेथे यथार्थलाई
रंगीन दोसल्लाले!
...
(एउटा मान्छे)
गद्य र पद्य कवितालाइ सँगसँगै लादालादै गजल तिर पनि लागे। रेडियोमा गजल सुनेर त्यसकै अनुशरण गर्दा कति गजल(उनका निम्ति) वास्तवमा गजल नभएर गजलको भेष धारण गरेका कविता बनेका थिए।वाचन शैली मात्र गजलको भएर बाँकी गजलका तत्त्व पाइदैनन ती रचनामा।यो सबै सैद्धान्तिक ज्ञानको अभावले थियो।उनले कोरेको पहिलो गजल पनि गजल वाचन शैलीमा लेख्दा नै तयार भएको थियो जुन साँच्चिकै गजल बनेको थियो।सोही गजल गुरु थापेर अघि बढे र आफै अध्ययन गरेँ,बल्ल बुझे गजल हुन अनुप्रास मिल्ने शब्द पछी स्थायी पद वा पदावली चाहिदो रहेछ जुन सुरुका दुइ पंक्तिमा लगातार आउनुपर्ने र दोस्रो देखि एउटा छाडेर अनुप्रास र स्थायी पद आउनुपर्ने।बस यतिले अगाडी बढे।

पत्थर हुँ म तिम्रो निम्ति हथौडाले हाने हुन्छ ।
कोडी कप्टी बिश्वास घाती मलाइ नै ठाने हुन्छ ।

रेडियोका साहित्यिक कार्यक्रम प्राय नछुटाउने उनले पछी कार्यक्रमबाट नै बुझे अनुप्रास शब्द काफिया र स्थायी पद रदिफ रहेछ।बाटो नपाउँदा हिड्न गाह्रो अब त जिज्ञासा बढ्न थाल्यो र स्वाध्ययन गर्दै ज्ञान बढाउँदै गए।आज रदिफ काफिया मतला मकता तखल्लुस ....इत्यादि बुझेर गजल लेख्दै छन् , बहरको पनि अभ्यास गर्दैछन्। भन्छन् बुझ्न धेरै बाँकी छ।अज्ञानमा भएको गजल नामको पजल ले यो बिन्दुमा पुर्यायो।

स्वप्नील पहिला कवि हुन् त्यसपछी मात्र गजलकार हुन्।यद्यपी अहिले गजलतर्फ ढल्किएको भान हुन्छ तर कविता पनि छोडेका छैनन्।कथा तथा लघुकथामा पछिल्ला दिनमा निकै रुची बढेको देखिन्छ र सक्रिय छन् । मुक्तक नाम दिएर भने अहिलेसम्म कुनै रचना लेखेका छैनन्।
आउने समयले उनलाइ कुन कित्तामा उभ्याउछ हेर्न बाँकी छ।तर एउटै बिधामा मात्र कलम चलाए बिशिष्टीकृत हुन्थ्यो की लागेको छ।

यसको अलावा उनमा केही कमजोरीहरु पनि छन्।अधिकांश रचनाहरु बिछोड पिडा दर्दका छन्।गजलमा खुशी पक्ष भन्दा दुःख पक्ष उतार्न सिपालु छन्।प्रेमका कुरामा पनि सम्मिलन भन्दा बिछोडका कुरा लेख्छन्,कहिले प्रेमीको दोष त कहिले प्रेमिकाको दोष देखाउँछन्।
देशभक्ति रचनामा देशको बिकृति औल्याउछन् तर देश गाथा गान मा त्यति खुलेको पाइदैन।उनमा सुखानुभुति लेख्ने सिल्प नै छैन की प्रतित हुन्छ बरु ब्यङ्ग्य गर्न सक्छन्।जनयुद्ध कालमा बढी शब्द युद्धकै पिडामा खर्चिए।

बिहानीपख झुल्किन्छ घाम बादलले छेक्दछ ।
उज्यालो केही आउन खोज्छ पर्खाल भै रोक्दछ ।।
.
.
मस्जिद गुम्बा मन्दिर चर्जमा छैन है देवको बास ।
त्यहाँ दाजुभाइ यहाँ साथीसँङ्गीको देख्दछु लासैलास ।।

उनको समग्र सिर्जना हेर्दा उनी बियोगान्त प्रवृतिका सर्जक देखिन्छ।

आज यी प्रतिभावान सर्जकलाइ केन्द्रले निलेको छ।मोफसलका पिडा भोग्ने प्रतिभा मध्ये यी पनि एक हुन।संचार माध्यमको पहुँचमा पुगेका उनी भन्दा कनिष्टले निकै नाम कमाएका छन्।निम्न मध्यम परिवार भएका तथा आफ्नो पीडा अरुसँग हत्तपत्त नखोल्ने उनी,अहिले नै पुस्तक प्रकाशन गर्ने अवस्था छैन।र पुस्तक नै एउटा लेखकको परिचय हुने तथा पुस्तक प्रकाशित नभएका लेखकलाइ लेखक नै नठान्ने संस्कारले स्वप्नील जस्ता हजारौ कलम भ्रूणमै तुहिइरहेका छन्। स्वप्नील एक प्रतिनिधि पात्र मात्रै हुन्।
[सामग्री : blog( www.swapneeldiwakar.blogspot.com ) n chat]

(सीमित जानकारीमा सिङ्गो समिक्षा गर्नु मेरो दुष्प्रयास मात्र हो।अवश्य पनि सानो लेखको टुक्रामा सिङ्गो ब्यक्ति समेटिन सक्दैन।कति महत्वपूर्ण पक्ष समेटिएको छैन)

- साथी सुकरात

२०६९/०९/२७ शुक्रबार
११ जनवरी २०१३

3 comments:

Unknown said...

सुकरात जी लाइ धन्यवाद ।

साथी सुकरात said...

Thank you swapneel ji. Its my pleasure.
साथी सुकरात

साथी सुकरात said...

Its my pleasure. Thank you swapneel ji.