सबै मान्छेको मनभित्र बिबिध भावना हुन्छ । कोही लेखेर ब्यक्त गर्छ भने कोही बोलेर , रोएर वा अन्य तरिकाले शान्त पार्छ । केवल तरिका मात्र भिन्न हुन्छ । धेरै बोल्न नसक्ने तथा आँसुले पनि मनमा सन्तुष्टी नहुने सायद कापी र कलम लिएर शब्द खेलाउँछ ।
पहिलो पल्ट कहिले कविता लेखेँ , ठ्याक्कै मिति भन्न सक्दिन तर कविताको शीर्षक फेरी बिर्सन सक्दिन । "बिधवा" थियो मेरो पहिलो कविताको नाम। स्कुल पढ्दा नै लेखेको हो । म बिरामी भएर एक बर्ष बिर अस्पतालमा बसेर घर फर्केपछी लामो समय घरमै बस्दा रचेको थिएँ ,(अस्पतालभित्र नछिरौँ) त्यसकारण त्यो 054/55 साल हुनुपर्छ।बिधवाले लगाउने सेतो र अरुले लगाउने रातो कपडाको अन्तरले बाल मस्तिष्कमा परेको प्रभाव थियो किनकी म पनि त बालक नै थिएँ । अहिले सम्झिदा लाग्छ त्यो बाल कविता नै थियो ।
आफ्नै कविता हेरे भैगो किन सम्झिने ? लाग्यो होला । यहीनिर छ एउटा दुःखद कुरा । मैले कक्षा आठसम्म पुग्दा कविताको केही संख्या बढाएको थिएँ । एकदिन स्कुलमा भएको बेला , घरमा थोत्रो कापीकिताब किन्नेलाइ अरु सँगै मेरो कविताहरु भएको कापी समेत बेच्नु भएछ । घरमा आएर कापी खोजिन मैले किनकी कामै थिएन तर त्यसको दुइचार दिन पछी अन्य कपीमा छरिएको कविता समेत एकत्रित गर्ने बिचारले खोज्दा मात्र पो थाहा भयो । त्यतिबेला नयाँ कपीमा कविता लेखेर स्कुलमा चै के मा लेख्ने ? धेरै नष्ट पार्छन् भनेर हामीलाइ कापी गनेर देको हुन्थ्यो , मितव्ययी हुनै पर्यो ! कविताहरु अक्सर छरिएका हुन्थे ।
कक्षा छ/सात तिर पढ्दा एकदिन बाटोमा एउटा थोत्रोथोत्रो परेको कापी भेटे , पाना प्रशस्त थियो । अगाडीका बिद्यार्थीलाइ हेरे अनि पछाडी पनि । हत्तपत्त सर्ट भित्र लुकाएँ । हो त्यही कापी मेरो कविता डायरी थियो जुन भूलबस बेचियो । कलिलो केटो मैले सन्तानको शोक महसुस गरेँ । उसो त सातबाट आठमा प्रथम भएर जाने बेलासम्म कापीमा कडाइपन हटिसकेको थियो । उम् अन्य कापीमा छरिएका बाहेक त्यसमा रहेका 68 (अठसठ्ठि) वटा गुमाएँ जुन कविताहरु जस्ताको त्यस्तै पुनर्लेखन गर्न सकिन । "बिधवा" कवितालाइ त झनै उही सोचले लेख्न सकिनँ ।अहिलेसम्म कुनै कविता "बिधवा" कोरिन सकेको छैन । बरु पछी त्यस घटनाको निकै पछी गजल अभ्यासको क्रममा एउटा गजलमा बिधवा रदिफ राखेर लेखे।ती सबै 68 वटा कवितामा पद्य कविताको बाहुल्यता थियो , धेरै झ्याउरे छन्दमा थिए भन्नेसम्म सम्झिन्छू । कक्षा आठमा पुगेपछी गद्य कविता धेरै लेखियो तापनि झ्याउरे छन्दलाइ बिर्सेको छैन ।
लेख्ने क्रमको नमिठो अनुभूतिको सानो अंश हो । जिन्दगीमा अझ तिक्त अनुभूति अझ धेरै हुन्छन्/छन् ।
कविता शब्द भनि सक्दा सँधै सँगै जोडिएर आउने घटना मात्र हो ।
No comments:
Post a Comment