- सिर्जना बानियाँ
त्यो दिन यति चाँडै आउँछ अनि त्यो ठाउँ छोडेर यति चाँडै जानुपर्छ भनेर सोचेकै थिइनँ।सपना जस्तै लाग्छ सबैले रातो अबिर लगाइदिएर फूलको गुच्छा हातमा दिदै बिदा गरेको!फर्कदा माइखोलालाइ राम्ररी नियाले,सदाझै आफ्नै गतिमा सुसाउँदै बगिरहेकी थिइन्।अब जाँदा उक्त ठाउँको लागी पाहुना भएर जानुपर्छ भन्ने कुरा मेरो मनले मानेको छैन।
घुमाउरो बाटो,सधैँ हुस्सु-कुहिरोसँग लुकामारी खेलिरहने सुन्दर-सफा सहर अनि त्यो सहरलाई छोएर विस्तारिएको चियाबारीका हरिया चुलीहरु।जो कोही मोहित हुने गर्छन् इलामको यो सौन्दर्यलाइ महसुस गर्न पाउँदा।त्यही हाल मेरो भएको थियो जब पहिलो पटक इलाम सहरमा मेरो पाइला परेको थियो।मलाइ थाहा छैन मैले इलामलाई 'फस्ट इम्प्रेसन'कस्तो दिएँ तर इलामसँग मेरो 'लभ एट फस्ट साइट'परेको थियो भन्दा अत्युक्ति नहोला।भाग्यवश त्यो सुन्दर नगरीसँग गाँसिने मौका मिल्यो आफ्नो जागिरे जीवनको पहिलो कर्मभूमिको रुपमा।
गोदकको डाँडोबाट इलामलाइ फर्केर हेरेँ।ठूलाठूला भवनहरुको बिस्कुन आफ्नो छातीमा समेटेर कुहिरोको टोपी लाएको इलामलाई अन्तिम पल्ट देखेर आँखा रसाए।यहाँको 'चन्जेबल'मौसमले मलाइ मोहनी लगाउन कति चाँडै भ्याइसकेछ।अर्ग्यानिक चियाको चुस्कीसँग दिन सुरु गर्ने बानी परिसकेको रहेछ अनि चुल्ठे चामलको भात,झ्याले आलुको सब्जी,अकबरे खुर्सानीको पिरो र टिमुरको फ्लेवरसँगको टमाटरको अचारको स्वाद जिब्रोमा अझै झुन्डिएको छ।चियाबारीको एकान्तमा आफ्ना भावनाहरु साट्दै गरेका प्रेमीहरु नजानिदो पाराले क्यामेरामा कैद गरेको,चियाको बोटको फल टिप्दै ग्रुपमा अगाडी हिड्नेहरुलाई ताकेर हानेको,पानी पिइसकेपछी धारा बन्द गर्न नजानेर टाप कसेको,अफिसमा सबैलाई काँचो लप्सी खुवाएर दाँत कुँड्याएको घटनाहरु ताजै छन्।यस्ता उपद्रोहरु फेरी गर्न पाइएला नपाइएला तर सम्झेर ओठमा मुस्कान भने अवश्य आउँनेछ।यी बाहेक लभ डाँडामा बसेर हुस्सु कुहिरोले लुकामारी खेलेको हेरेको,निर्माणाधिन भ्यु टावरको टप फ्लोरमा गएर चियावारी अनि बजार नियालेको,टुँडिखेलमा गेम हेर्दा पानीले भिजेर निथ्रुक्क हुँदापनि चाल नपाइ चना खाँदै हुटिङ्ग गरेको आजै जस्तो लाग्छ।
इलामले थुप्रै साहित्यकार,राजनितिज्ञ,गीतकार,गायक जन्माएको छ। नारायणस्थान, माइस्थान,सिंहबाहिनी जस्ता धार्मिक स्थलहरु यही छन्।झट्ट हेर्दा माइ,जोगमाइ तथा पुवा जस्ता खोलाहरुले घरिएको इलामलाइ केही अभाव छैन जस्तो लाग्छ।तर बाहिरबाट हेर्दा जतिसुकै सम्पन्न देखिए तापनि वास्तवमा इलाम तथा इलामेलीहरु बेलाबेलामा बिभिन्न अभावहरुसँग गुज्रिरहन्छन्।कहिले इलामेलीहरु 22 दिनसम्म विना बिजुली अन्धकारमय जीवन यापन गर्न बाध्य हुन्छन् त कहिले डाक्टरको अभाबमा झापा तथा भारतसम्म गएर महँगो शूल्क तिरेर उपचार गराउने स्थिति समेत झेल्नुपर्ने सत्यता यथावत् रहँदै आएको छ।अस्पतालमा ठूलाठूला भवन थपिइरहेका छन् तर डाक्टरको दरबन्दी रिक्तको रिक्त। शाखा बाटाहरुमा बिछ्याइएका पानीका पाइपहरुको थुप्रो देख्दा जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ यहाँ पानीको कुनै समस्या छैन भनेर।तर वास्तवमा यहाँ सबैभन्दा भयंकर समस्या पानीको नै रहेको छ।इलामको महँगाइको त वर्णन गरेर साध्य नै छैन।जताततै कलेजका बिद्यार्थी र कर्मचारीको बाहुल्यता रहेको इलाम चाडपर्वमा भनेँ शून्य रहन्छ।
वास्तवमा इलाम कर्मठ हातहरु अनि विद्वान मस्तिष्कहरुको संगमथलो हो। किसानहरु आफ्ना सीपहरु अलैँचीसँगै उमार्छन् अनि चियाका बुटाहरुसँग हुर्काउँछन्, बिचारहरु एक अर्कासँग जुधाएर आफ्ना ज्ञानलाई तिखार्छन्। प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण यो ठाउँको छिमेकी हुन पाउनु झापा तथा हामी झापालीहरुको लागी सौभाग्यको कुरो हो। सबै नेपालीहरुको माया तथा इलामेलीहरुको मिहिनेतसँगै उचित नीति तथा कार्यक्रम पाएमा एकदिन यो ठाउँ देश कै मुख्य 'टुरिष्ट डेस्टिनेसन' बन्न नसक्ला भन्ने कुरामा दुइमत नै छैन ।
No comments:
Post a Comment