Pages

05 August 2013

सुरभी

- दिवाकर स्वप्नील
रातको दशबजेको छ।आज खै किन हो मलाई
कता कता छुट्टै
खुशीको अनुभुती भइरहेको छ।
निद्रा लाग्ने छाँट सम्म छैन।तर
थाहा छैन कुन अजिब तत्वले यो उमङ्ग
बढाइरहेको छ?आफुभित्र तरङ्गीत
छालको राज पत्ता लाउन अझै
सकिरहेको छुइन।रात छिप्पिदै जाँदैछ।
निद्रा नलागेपनि आँखा चिम्लेर
निद्रादेवीलाई आमन्त्रण गर्न थालेँ।
अझै खुशी भइनन् निद्रादेवी।
अचानक मोबाइलको घण्टी बज्यो। ओहो! आज
त स्वीच अफ गर्नै भुलेछु!
हेरेँ,त्यो कुनै परिचित नम्बर थिएन।
- हेलो!
- हेलो सर नमस्कार! अपरिचित महिलाबाट
सर भन्दा अप्ठेरो लाग्यो।ओहो सर
भन्ने भइएछ भनेर गदगद भएँ
कताकता अनौठो महसुस भयो। सम्हालिएर
बोलेँ-"हजुर! नमस्कार ।.. माफ
गर्नुहोला म यहाँलाई ठम्याउन असमर्थ
भएँ। हेर्नोस् न म अचेल भुलक्कड
भएछु,परिचितलाई पनि कैले चिन्दिनँ।"
रातको समय,मैले कुरा लम्ब्याउन
चाहीरहेको थिइनँ।
-हैन हैन।म हजुरको अपरिचित नै परेँ।तर
परिचित हुने अभिलाषा बोकेर फोन
गरेकी।
- अवश्य।भइहाल्छ नी।मान्छेले
मान्छेसँगै त हो नि परिचय गर्ने।हैन
र?
- थ्याङ्क यु सो मच!हजुरसँग यो मीठो गफ
गर्न पाउनु मेरो ठूलो भाग्य।
मेरो हत्केलाको कुन चै
रेखामा यो भाग्य रहेछ सम्झिदैछु।
- ओहो,मलाइ त्यति ठूलो नबनाइदिनोस् न।
म पनि सर्वसाधारण नै
हो।...साँची मेरो नम्बर यहाँलाइ कसले
दियो?
- जहाँ इच्छा त्यहाँ उपाय।अनुराग
बढेपछी खोज्दा मुसोको त सिङ भेटिन्छ
रे,मोबाइल नम्बर कुन ठूलो कुरो हो र?
- त्यो त हो।तैपनि..?
- हजुर भुलक्कड साँच्चै हो रैछ अब चै
पत्याएँ।
अनि दिउसो रेडियो अन्तर्वार्तामा आफै
बाँड्नुभएको हैन र?
- ए हो त
है,धत्तरिका कस्तो भुलेको!..ठीकैछ
यहाँको नाम?
- सुरभी।
-सुरभी के?
- अहिलेसम्म था छैन।
-ए।अनि के गर्नुहुन्छ?
- म धेरै काम गर्छु,भात खाने,घुम्ने,
रेडियो सुन्ने,
हजुरजस्तो विद्वानको संगत गर्ने!
- हैन हजुर त्यस्तो भनेको हैन।
मेरो प्रश्नको गलत अर्थ नलाउनु न।
- हे हे सरी सरी!जस्ट जोक गर्या मात्र
है,सिरियस नलिनु होला।
- कहिलेकाहीँ मान्छे
साँचो कुरा ओकल्न
पनि जोकको सहारा लिन्छ अरे
भनेको सुन्छु।
- कहिलेकाहीँ मात्र,सधैँ त हैन नी?अँ
हुन पनि सक्छ।
-तपाइलाई बोल्न कसैले नजित्ने रैछ।खै
अब घर सोधुम भने
खम्बा गाडेको ठाउँमा भन्ने हो कि डर
पो लाग्यो।
- थर नभ'को मान्छेको घर कहाँ हुन्छ र?
हाहाहा
- रमाइली हुनुहुदो रैछ।मैले तपाइलाई
यत्रो सोध्दा पनि मलाइ
केही सोध्नुभएन नी?
-पर्थ्यो र?
- आफ्नो बारे जानकारी माग्ने अपरिचित
मान्छे बारे जानकारी राख्न मन पर्दैन
तपाईलाई?
- मैले जति था पाको छु त्यति नै काफी छ
अहिलेलाई।था पाए पनि नपाए झैँ
ढर्रा पार्न चै मन लाग्दैन।
अनि अर्को कुरा नि ब्यक्ति स्वयंले
आफुबारे भनेका कति कुरा सत्य नहुन
पनि सक्छ।
- ठीक हो।त्यसो भए के तपाइले
आफ्नो बारे भन्नु भएको पनि गलत हो?
- दुवै हुनसक्छ।
- तपाइका तर्क
सुन्दा वौद्धिकताको गन्ध आउँछ...।
- हा हा हा,कति धेरै मूल्याङ्कन
गर्नुभा'को?म त्यस्तो केही हैन।बस्
हजुरको एक पाठक मात्र।
-धेरै धेरै धन्यवाद।.... मैले त
प्रश्नको चाङ
थुपारेर,यहाँको निद्रा नै डिस्टर्व
भो होला है?
-त्यस्तो हैन।मैले के बुझौँ हजुरलाइ
निद्रा लाग्यो?
-हैन हैन।निद्रा अपरिहार्य हो।
आजको अनिदोले अर्को दिनलाइ असर
पुर्याउँछ। अनि गफको अन्तिम
बिन्दुपनि हुँदैन।भन्न खोज्या मात्र
हो।
-"ओके सर,नबिर्सनु होला।हस
वाइ,शुभरात्री।" सुरभीले फोन राखिन्
तर उनको ब्यङ्ग्यले
मेरो निद्रा लुटेर गयो।एउटा रहस्य
जन्माएर भागिन्।
चाहे कट्टर आलोचक किन नहोस् मलाइ मन
पर्छ तर्कगर्ने मान्छे।सुरभीले
आफ्नो नाम पछाडी कुनै थर झुन्ड्याउन
चाहिनन्।अझै उनलाई आफ्नो बखान आफै
गर्न मन लागेन।..आखिर को हुन् त? यावत
कुरा मनमा दौडिनथाले।म
एउटा कुरामा ढुक्क थिएँ,उनले
मेरो कथा पढेको हुनुपर्छ।र
यी रहस्यमय नारी तीस
नकाटेको हुनुपर्छ
किनकी प्रेमका तिलस्मी प्रशंग
समेटिएको कथाका बहुसंख्यक पाठक
यही उमेर समुहमा हुन्छन्।
.
बिहान उही रातीकै नम्बरबाट मेसेज
आयो। लेखिएको थियो-"मैले
राती अलि धेरै बोले जस्तो लाग्यो।
हेर्नु न म बोल्दाबोल्दै धेरै
बोलिहाल्छु।मलाइ अन्यथा नसम्झनु है
प्लीज।" उनको तर्क क्षमता मन परेकै
थियो।मेसेज देख्दा खै के ले
उत्प्रेरित गर्यो कुन्नी जवाफ पठाएँ-
हैन धेरै बोल्नुभएन,मलाइ त
मज्जा लाग्यो तपाइको तर्क सुन्दा।
मेसेज डेलिभरी हुँदानहुँदै जवाफ आयो-
थ्याङ्क यु! एउटा लेखकलाई तारिफ
गर्ने धेरै हुन्छन् र आलोचना गर्ने
पनि।स्वस्थ समिक्षाले लेखकलाई
उत्प्रेरणा मिल्छ।
मेरो कथाभित्रका आन्तरिक पक्ष केलाउन
सक्ने खुबी देखेँ।त्यसो त
तार्किकता न्युन भएका अन्धभक्त पाठक
पनि धेरै हुन्छन्। सुरभीलाई एकपटक
भेट्न मन लाग्यो।फेरी आफै डराएँ-
एउटा केटीले राम्रो भन्दैमा तुरुन्त
भेट्ने कस्तो लेखक ? कतै सुरभी मलाई
जाँच त गर्दै छैनन्?
भोली अखबारमा एउटी केटीको एकै बोलीले
मख्ख पर्ने भनेर मेरो बदनाम भयो भने?
सुरभी पत्रकार पनि त हुन सक्छिन्
जो मलाइ बदनाम गर्नेहरुको गोटी.?के
थाहा मान्छेको कति शत्रु हुन्छन्!
मुखमा राम र
पेटमा छुरा धस्नहरुको अभाव छैन यहाँ।
...मनमा शब्दबिचारको बाढी आयो।
अन्योलमा बित्यो दिन।
राती उही सुरभीको नम्बरबाट मेसेज
आयो-"गुड नाइट,ह्याभ स्वीट ड्रिम" असल
बौद्धिक मान्छे ठान्दाठान्दै
पनि स्त्रीलम्पट संज्ञा जोडिने भयले
जवाफ फर्काइनँ।तर चाहे जवाफ लेखुँ
या नलेखुँ मेरो मथिङ्गलमा रहस्य र
उनी घुमिरह्यो।
.
हरेकदिन कम्तिमा एकपटक फोन
अथवा मेसेज नगरी उनको दिन पूर्ण नहुने
झैँ गरेर बिहान नभए
बेलुका सम्पर्कमा आउन थालिन्।
मेरो प्रश्नमा एउटै जवाफ
आउथ्यो"तपाइको शुभेच्छुक र एक पाठक"
मलाइ यति मात्रले पर्याप्त थिएन।अब
फोन गर्दा नउठाउने निश्चय गरेँ।तर
मोड असामान्य बन्यो।झन धेरै मेसेजहरु
आए।अप्रत्यक्ष कटाक्षका शब्दहरु
बर्षा हुन थाले।
सोझो अर्थमा भन्दा मलाइ उनैतर्फ
आकर्षित गरिन्।एक खाले मानसिक
रोगी नै भएँ।
दुनियाँका अघि सामान्य देखिएपनि म
रहस्यको बादलमा हराइसकेँ। रहस्य
उत्कर्षमा पुगिसक्यो अब मैले टोलाएर
गमेर मात्र हुँदैन,लाग्यो। आँट बटुलेँ
। आफै फोन गरेँ -

- हजुर!
-सुरभी जी ठीक हुनुहुन्छ?
- हजुर।किन तपाइलाइ सन्च छैन?
- सन्चै छु शारिरीक तर मानसिक छैन।
- मतलब?के भो?
- हेर्नोस म कुरा घुमाएर गर्दिनँ।म
मानसिक
बिमारी छु तपाइको कारणले।तपाइका हरेक
क्रियाकलापले मेरो समीप हुन
खोजेको स्पष्ट छ।
समीप हुन खोज्नु...।
- सर,सर हेलो..एकछिन यता सुन्नु न,मलाइ
गलत...।
- सुरभी जी मैले गलत सम्झेको छैन।मलाइ
कुरा त
पुरा भन्न दिनु।..समीप हुनु आफैमा खराब
हैन।
त्यसको प्रयोजन पनि हुन्छ।तपाइले
आफुलाइ
छायाँमा राख्नाले
यो समस्या आएको हो।..हेलो..अँ एकैछिन
धैर्य
गरेर सुन्नोस है।तपाइले आफुलाई पाठक
मात्र
भन्नुभो।मलाई तपाइ जस्तो मान्छे पाठक
पाउँदा खुशी लागेको छ।तर पाठकले
कृतिका बारेमा प्रतिक्रिया दिन्छ न
की बिहान बेलुका पाठ इतर मेसेज गर्छ।
हो आफुलाई मन पर्ने मान्छेलाई
यसो गरिन्छ
पनि।यो नजिक हुने सुत्र पनि हो।यो गलत
हैन।
फेरी पनि परिचयको कुरा उठ्छ र
नजिकिनुको ध्येय?के एउटा लेखकले
आफ्नो असल
बौद्धिक पाठकसँग भेटेर
अन्तर्क्रिया गर्न
पाउँदैन?त्यसको लागी पनि त...।
- भयो हजुर सुनेँ।तपाइले तीन पेज पढेर
सुनाएपनि एउटै
कुरा दोहोरिएको छ,यति बुझ्न
सकेँ जस्तो लाग्छ।मेरो परिचय र
सम्पर्कमा आउनुको कारण!वस्
कुरोको चुरो यत्ति,हैन त?
- हो।तर यति लामो कुरा नभनीकन तपाइले
आफुलाइ कहिल्यै प्रकाश पार्नुभएन।नाम
ठूलो कुरो भएन XYZ जेसुकै राख्नोस्।
- तपाइलाई मैले मानसिक तनाब
दिएकोमा क्षमाप्रार्थी छु।ठिकैछ तपाइ
मलाइ
भेट्न चाहानुहुन्छ भने भरे ठीक दुइ
बजेपछी चन्द्रगढीको लेखनाथ
चोकमा आउनुहोला।
- धन्यवाद।तर मैले चिन्ने कसरी?
- म चिन्छु तपाइलाई।म नै बोलाउँला।ठीक
दुइ
बजेदेखी तीस मिनेट तपाइलाइ म
पर्खिनेछु
चोकमा।
- त्यसको लागी पुनः धन्यवाद तर
कति मान्छे

भेट्न बोला'र आउँदैनन् नी?
- ढुक्क हुँनोस ममा त्यो चरित्र छैन।
त्यो घृणित
कुकृत्य मबाट हुँदैन।
.
बिगत केही दिनदेखी लागेको पर्दाबाट
भित्र
चियाउने मौका मिलेकाले पनि खुशी भएँ।
खुशी अन्य कारणले पनि थिएँ-
एउटा वौद्धिक
पाठकसँग भेट हुने भयो,तनाब मुक्त
हुनेछु भेटपछी।
बिर्तामोडमा धेरै समय भेट हुन
नपाएकी साथीसँग आँखा जुध्यो।अब
केही नबोली म फुत्किनँ पाउँदिनँ।
मुक्ति
चोकको उत्तरतिरबाट उनले हात
हल्लाइन्।म
दक्षिण फुटपाथमा थिएँ।बोल्न मन
लागेपनि दुइबजे
चन्द्रगढी पुग्नुपर्ने
बाध्यता थियो।बाटो क्रस गरेर
उनी आउँदै
गर्दा कर्के नजर घडीमा डुलाएँ।एघार
चालीस!
एकछिन गफ गर्न सकिन्छ।उनलाइ
देख्दा खुशी लागेकै थियो।बोल्ने चाह
बढेर आयो।
फेरी भेट हुन्छ हुन्न के थाहा?
- खुब मोटाइछेस त डल्ली?बिहे
लागेजस्तो छ!
- बिहे मात्रै?अब लाग्न थालेपछी के के
लाग्छ
लाग्छ नी!तँ जस्तो सुन्ठी हो म?
उसले नजिकैको होटलमा गएर गफ गर्ने
प्रस्ताब
राख्दैथिइ,मैले मानिनँ।नमान्नुक
ा दुइ कारण
थिए।पहिलो त मलाइ हतारथियो।दोस्रो
भर्खर बिहे भएकी महिलासँग
होटलमा एउटै
टेबलमा बस्न अप्ठेरो लाग्यो।हिन्दै
भद्रपुर
स्टेनतिर गफ गर्दै गयौँ।
- हा हा डल्ली झन डल्ली भइछे!
- अझै डल्ली भन्छस्?ठूली पो भएँ त
हौ अब
त।..छोड दे इ कुरा,अँ भन न अचेल कता के
गर्दैछस्?
-
हा हा हा रोजी,तेरो यो हुलिया देख्दा न
डल्ली एकदम म्याच गर्छ।..मैले गर्ने
काम भनेकै
गफले मान्छे ठग्ने।तेरो भन न?
- रेला नगर गधा.तँलाइ सिरियस हुन
कहिल्यै
आएन है?..आफ्नो त के भन्नु र हौ,बिहे
गरियो,बुढालाई डलरमा बेचियो।
गफ गर्दागर्दै मोबायलले
तिघ्रामा घर्षण
गर्यो।फोन सुरभीको थियो।
- तपाई कहाँ हुनुहुन्छ?सुरभी
को प्रश्नमा संक्षिप्त जवाफ दिएँ-
आउँदैछु
बाटोमा।
-
हामी भेट्दा भन्दा नभेट्दा राम्रो हुन
जस्तो लाग्यो।
- किन?
- अहिलेसम्म तपाइको दिमागमा मेरो जुन
तस्विर बनेको छ,त्यो भरे च्यातिन्छ।
त्यो बेला तपाइलाइ नमज्जा लाग्न
सक्छ।
भनिन्छ कति कुरा नदेखेर नै सुन्दर
हुन्छन्।
-"म चन्द्रगढी आइपुग्न लागेँ।मलाइ
त्यस्तो केही हुँदैन।..आवाज
राम्रो सुनिएको छैन।
राखेँ।"उनको बाँकी कुरा नसुनी फोन
राखे।
-ओए के भो,अहिले त सिरियस मुडमा आइस्
त?
-त्यस्तो केही हैन।एउटा मान्छे
भेट्नुथियो।..अँ
अघि भन्दैथिस नी,बुढालाई कुन
देशको डलरमा बेचिस् रे?
- अष्ट्रेलिया।
- अनि छोराछोरी?
- एउटी छोरी छे।
- बुढीलाइ लान मिल्छ होला त?
- प्रोसेस गर्दा मिल्छ तर अहिले त
घरमा सासु
ससुराको स्याहार पनि त
गर्नुपर्यो नी।
- ए, ल राम्रो रैछ।तेरो नम्बर दे न,म
भरे फोन
गर्छु।अहिले अलि हतार छ,जान्छु ल
डल्ली?
- "फेरी डल्ली?" उसले
आँखा ठूला पार्दै हेरी,म
हाँसिदिएँ।नम्बर साटासाट
पछी भद्रपुरतर्फ
हुँइकिएँ।
.
हर्चनाको पुल पुगेँ जहाँ सशस्त्र
माओवादीले
युद्धकालीन समयमा बिर्तामोड
इलाका प्रहरी कार्यलय आक्रमण
गर्दा ट्रक
जलाएर बाटो अबरुद्ध गरेको थियो।
त्यो पुलमा पुगेपछी फोन आए
जस्तो लाग्यो,निकै
भिड थियो बसमा रिसिभ गरिनँ।कसले किन
गरेको थियो थाहा भएन।सुरभीलाई भेट्न
हतारिएको थिएँ।कतिखेर भेटुँ
जस्तो भएको थियो।
बसभन्दा द्रुतगतिमा मेरो मन
दौडीरहेको थियो।बसको स्टेरिङ्ग
ड्राइभरको हातमा थियो तर
मेरो मनको स्टेरिङ्ग अनियन्त्रित
थियो।आफ्नै
गतिमा अघि बढेको बसले निकै
प्रतिक्षापछी कवि शिरोमणि लेखनाथ
पौडेलको सालिकको दर्शन गरायो।
यही हो लेखनाथ चोक!तर बस
सालिकको अगाडी मालिक भएर उभिएन।
आफ्नो स्टेनमा गएर रोकियो।
मेरा खुट्टा फटाफट ओर्लिए र चोकतर्फ
लम्किए।
सालिक मेरो मालिक भयो अब।
कुर्सिमा बसेको मालिकको पाउमा गएर
यताउती नजर डुलाएँ।कसैले
बोलाइरहेको छैन
मलाइ।लाग्यो-थुक ्क कठपुतली नै भइएछ।
एकछिन
ट्वाल परेर हेरेँ,कोही आएन।
घडीमा पन्ध्र मिनेट
गएको छ दुइ बजेर।अन्तिमपटक
वरिपरि आखा डुलाएँ,धेरै थिए मान्छे तर
मलाइ
कसैले बोलाएन।आफैदेखी रिस
उठ्यो जाबो एउटा केटीले मूर्ख बनाइ।म
बीच
बाटोमा यतिका समय उभिदा कति हाँसे
होलान्?एउटा पसल
अगाडीको बेन्चमा बसेँ र
पसिना पुछ्न थालेँ।मुखले जे
भन्यो त्यो नहुन
पनि सक्छ उनको वाणी सम्झिदै
भद्रपुरबाट
आउने
बसको प्रतिक्षामा थिएँ घर फर्कन।
मलाइ
ताकेर एउटी केटी आइन् आस पलायो तर
पसलमा आएकी रैछिन्।त्यसरी नै
अर्की केटी आइन्।रातो वर्णकी उनले
रातो कुर्ता र कालो ल्यागिज
लगाएकी थिइन्।
मोटी थिइनन् तर दुब्ली पनि होइन।
त्यो अनुहार कतै देखेको झै लाग्यो तर
कहाँ हो ठम्याउन सकिनँ।मेलै त देखे
जति नारीलाई शंका गर्न सक्थेँ बोलाउन
सक्दिनथेँ।उनी आइन् पसलेसँग गफ गर्न
थालिन्।म
तर्फ ध्यान दिइनन्। भद्रपुर-बिर्ताम
ोडको बस आयो।म उठेर त्यता लम्किन
खोजेँ।बल्ल
उनले भनिन्-"तपाइ अघिदेखि कसैलाई
कुरे झैँ
लाग्थ्यो।भेट्नु भयो त?"शंका ठीक
मान्छेमा छ
कि जस्तो लाग्यो।जवाफ दिएँ-भेटेँ।
- कति बेला?
- बिहान।
- "सरि सर।अलि ढिला आएँ।"
अब म नबुझ्ने भइदिएँ- मैले त बुझिनँ।
तपाइ
को हो?मलाइ सर भन्दैहुनुन्छ?
- जसलाई तपाइको आँखाले अहिलेसम्म
खोज्दैछ।...सर यो नाटक छोडुम अब।
साँच्चो अर्थमा भन्ने हो भनेँ परबाट
हेर्दैथिएँ।
प्रत िक्षाको चरमबिन्दु पुग्न
दिएको नी।
सरी त्यसको लागी सजाय पाम।
- कसैलाइ दुख दिन त तपाइबाट सिकोस्
मान्छेले...अँ ठिकैछ सजाय पछी दिम्ला।
तर
एउटा कुरा मैले तपाइलाइ कतै
देखेको जस्तो लाग्छ!
- म जस्तै अरु कोही देख्नु भो कि?
- खै हुनसक्छ तर कतै देखेको हो।ठिकैछ
तपाइ के
गर्नुहुन्छ?
- यो भन्नुभन्दा पहिला तपाइसँग किन
नजिकिएँ
बुझ्नुहुन्न?
- भन्नु न।
- सबै
कुरा यहाँ भन्नुभन्दा उऽऽ...त्यो होटलम
न। - होटलमा नबसुम।मलाइ बरु बिरेन्द्र
उच्च
मा.वि सम्म पुर्याइदिनु न।बाटोमा गफ
पनि हुन्छ।
- को छ र बिरेन्द्रमा?
- एक मित्र अध्यापन गर्छन् रे।
आएको बेला भेटेर
एक गोली दुइ सिकार गरुम कि भनेर।
- ए।ठिकैछ।
- हुन्छ।तपाइ पनि आफ्नो कुरा भन्दै
अगाडी बढौँ है।
उनले सहमति जनाइन्।दुवैजना बिरेन्द्र
उच्च
मा.वि तर्फ लाग्यौँ।मैले पुनः खोतले
उनको कुरा भन्नलाइ।उनले मुहारमा मन्द
मुस्कान छर्दै भन्न थालिन्- माफ
माग्नुपर्ने
अर्को पनि कुरा छ।तपाइ जे सम्झनु
त्यो भन्नैपर्छ मैले अब।वास्तवमा म
एक कदम
सफल भएँ।तपाइलाइ यहाँसम्म ल्याउन
सकेँ।
मेरो उदेश्य नै आफुतिर ध्यान आकर्षण
गराउने
थियो।त्यसको कारण पनि तपाइको कथा नै
हो।
पेशागत रुपमा भन्नुपर्दा म
रेडियो रिपोर्टर
हुँ।तपाइलाई बुझ्न सजिलो पार्दा म
तपाइकी मुख्य पात्र हुँ।
- सदिक्षा?
- हो।त्यही सदिक्षा जसलाइ तपाइले आफु
अनुकुल
प्रयोग गर्नुभयो।
- मतलव ?
-एउटी असहाय केटी बिवाह नगरी पुरै
जिन्दगी बाँच्न सक्दिनँ
पुरुषको आवश्यकता पर्छ,प्रमाणित गर्न
मलाई
एउटा पुरुषसँग टासिदिनुभयो।मेर
ो भाइको जीवनप्रति मोह हुँदाहुँदै
क्यानसर
लगाइदिनुभयो र मार्नुभयो।आमाबु
वालाई चार
धाम लखेट्नुभयो र उतै
बाढीमा होमीदिनुभयो अनि मेरो ...?के
लेखकलाई मान्छे र मान्छेको चरित्र
हत्या गर्न
छुट छ?
उनी बोल्दाबोल्दै बोली अवरुद्ध भयो।म
अवाक
सुन्दैछु ।
- ...अनि मेरो दयनीय स्थिति देखाएर
स्वेरकाल्पनिक कथा रच्नुभयो।हो ठिकै
लेख्नुभयो सदिक्षा रेडियो पत्रकार।
त्यसपछी
सदिक्षाले गरेको रिसर्च र
प्रतिज्ञा किन
लुकाउनुभयो?
- मैले बुझिनँ नी ?
- यति बुझ्नुहुन्न भन्ने मलाइ
लाग्दैन।..नियतव स
त्यसो गरिएको हो।त्यो प्लट विकास
गर्दै
लाँदा सत्यलाई नमोडीकन तपाइको थिम
पुष्टी हुने थिएन।साँचो त यस्तो थियो-
जब म रेडियो पत्रकार भएँ मैले धेरै
काम
महिला क्षेत्रमा रहेर फिल्डमा गरेँ।
कहिले एकल
महिलाकोमा पुगेँ त कहिले बिहे गरेर
पति बिदेश
गएका पत्नीको भावना सुनेँ।
प्रसवको चित्कार,लोग्नेक
ो पिटाइ,दाइजोको कलह ,....।मेरो आत्माले
प्रश्न गर्यो आखिर बिवाहको लक्ष्य
के?
ती पिडाहरु देख्दा बिहेसँग डर लाग्न
थाल्यो।
जति स्वतन्त्र म एक्लै हुँदा हुन्छु
त्यो बिहेपछी देखिनँ।प्रसवदेख
ेपछी त्यो देखि भाग्न थालेँ।
आफ्नो स्वतन्त्रता र स्वावलम्बीपन
त्याग्ने आँट
आएन।एकाध नारीका कुराले तानेन मलाइ।
आफ्नी पत्नीलाई "तपाई" भन्दै गृह
हिंसा गर्ने
खोक्रो आडम्बरी पुरुषहरु
पनि यही धरामा भेटेँ।
त्यसपछी बिहेप्रति वितृष्णा जागेर
आयो।
जीवनभर बिवाह नगर्ने संकल्प गरेँ।
तपाइ
यसलाई मेरो कमजोरी भन्नोस
या नभन्नोस्,मलाइ फरक पर्दैन।
हो यो वास्तविकताभन्दा पर गएर
एउटा पुरुषसँग सुताउनुभयो।आफ्न
ा सारा कुरा त्याग्न लाउनुभो।
मेरो आँखामा हेर्नोस के तपाइले मलाइ
पढ्न
सक्नुभयो? एउटी केटी एक्लै बस्न
सक्छे भन्ने
तपाइको ब्रह्मले नपत्याउनु
मेरो कमजोरी होइन।
सहाराको लागी पतिको साथ चाहिन्छ
भन्ने
तपाइ जस्ता लेखकको नियमलाई च्यात्ने
लाखौँ निस्किसकेका छन्।सुनाइदिनु
होला टाउकामा प्रगतिवादको होडिङबोर्ड
झुन्डयाउने पुरातनवादी तपाइ
जस्ता लेखकहरुलाई।"
.
उनको वाणीमा म अवाक नाप्दैथिएँ
आत्मविश्वासको अनन्त गहिराइ।

No comments: